सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट

आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताए।

पोखरा /

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्।

आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको भानु विशेष समारोहमा प्रमुख अतिथि भट्टले नेपाली भाषाका आदिकवि भानुभक्तलाई सबैले स्मरण गर्नुपर्ने बताए।

भानुका कृति सामाजिक कल्याणका लागि समर्पित,जातीय एकताका प्रतीक र क्रान्तिका मुख्य आधार मान्न सकिने भन्दै उनले आदिकवि भानुभक्तले नै छरिएर रहेको नेपाली भाषालाई एकीकरण गर्ने काम गरेको उल्लेख गरे।

IVF Big

‘नेपाल राष्ट्रलाई भावनात्मक रूपले एकीकृत गर्न र नेपालीपनको पहिचान गराउन भानुको महत्वपूर्ण योगदान रहेको छ । उहाँका सिर्जनाबाट नेपाली भाषाको उन्नयन, प्रवर्द्धन र मानकीकरण भई नेपाली राष्ट्रियतालाई बलियो पार्नमा सर्वोपरि योगदान पुगेको छ ।’ भट्टले भने – ‘भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसंख्यामा पुर्‍याउनु रहेको छ । नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको छ ।’

आजको दिन साहित्यिक, सांस्कृतिक, शैक्षिक तथा सामुदायिक संस्थाहरूले आदिकवि भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम गरिरहेको र यस्ता उत्सवले युवा पुस्तामा साहित्यिक भोक जगाउने र भाषाप्रति सम्मान तथा नेपाली भाषाप्रति गौरव बढाउन मद्धत पुग्ने विश्वास प्रदेश प्रमुख भट्टको छ ।

आदिकवि भानुभक्तसँग जोडिएका विभिन्न ठाउँहरुलाई जोडेर साहित्य पर्यटनको माध्यमबाट अगाडि बढ्न सके मुलुकको समृद्धिमा सहयोग पुग्ने भन्दै भट्टले हामी आफ्नो मातृभाषाको शक्ति एवं महत्व जगाउन र आदिकविको विरासतलाई संरक्षण गर्दै अगाडि बढाउन आ–आफ्नो ठाउँबाट दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले पृथ्वी नारायण क्याम्पसमा नेपाली विषयमा सर्वोत्कृष्ट विद्यार्थी रामबहादुर कुमाल र नेपाली विषयमा लामो समय पढाउनुभएकी पोखरा २६ स्थित लक्ष्मी माविकी शिक्षिका ईश्वरीकुमारी जिसीलाई आयोजकका तर्फबाट नगदसहित सम्मान गरे।

यस्तै, भानु वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदेश प्रमुख भट्टले व्यक्तिगत रूपमा नगद २० हजारको चेक स्वकीय अधिकृत ललित ओझामार्फत् प्रतिष्ठानका अध्यक्ष साहित्यकार सरुभक्तलाई प्रदान पनि गरे।

Leave A Reply

Your email address will not be published.