पोखरा
पोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको मेयर धनराज आचार्यले जानकारी दिए ।
समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य छन् भने समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी छन् ।
समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको संख्या, विद्यार्थी राख्न पाउने संख्यालगायत विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।
बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस सोमबार बिहान पोखरा(२१ छरछरेमा विद्यार्थीसहित दुर्घटना भएको थियो ।दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।