रसुवा/
प्रसिद्ध धार्मिक तीर्थस्थल रसुवाको गोसाईंकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ।
बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाण्डौको सहकार्यमा गोसाईंकुण्डमा मेला भर्न पुग्ने तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठ जनाको समूह गोसाईंकुण्ड गएको हो ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा। सुशान हुमागाईंको नेतृत्वमा आठ जनाको टोली गोसाईंकुण्ड प्रस्थान गरेको जानकारी दिनुभयो । टोलीले गोसाईंकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाईंकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ । सङ्घले गोसाईंकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।