पोखरा/
पोखरा–२६ साँघुको मुखदेखि सिलिङेसम्मको सडक स्तरोन्नति गरी वैकल्पिक मार्गको रूपमा विकास गरिनेपोखरा–२६ स्थित साँघुको मुखदेखि सिलिङेसम्मको सडकलाई स्तरोन्नति गरी वैकल्पिक मार्गको रूपमा विकास गरिने योजना अघि सारिएको छ। यसै सन्दर्भमा, बिहीबार आयोजित विशेष समारोहमा पोखरा–२६ का वडा अध्यक्ष नरेन्द्र थापाले उक्त सडकको शिलान्यास गर्दै यसलाई पोखराको विकास र पूर्वाधार विस्तारका लागि महत्वपूर्ण कदमको रूपमा वर्णन गरे।
अध्यक्ष थापाले यस सडकलाई वि।सं २०४९ मा निर्माण गरिएको भए पनि विशेष प्रयोगमा नआएको तर स्तरोन्नति पछि यसलाई मुख्य मार्गको विकल्पका रूपमा प्रयोग गर्न सकिने जानकारी दिए। उक्त परियोजनाका लागि तीन करोड १२ लाख रुपैयाँमा ठेकेदार कम्पनिले सम्झैता गरेको छ।
यस सडकको लम्बाइ १ किलोमिटर ११० मिटर र चौडाइ १० मिटर नाला सहित हुनेछ। निर्धारित समयभित्र, आगामी साउन ९ गतेभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो वैकल्पिक मार्गले पोखराको यातायात व्यवस्थापनलाई थप सुरक्षित, सहज, र व्यवस्थित बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ठेकेदार कम्पनीले सम्झौतामा लेखिएकोभन्दा तीन महिना अघि नै सडक निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता समेत जनाएको छ। अध्यक्ष थापाले सबै सरोकारवालाहरूलाई सडक निर्माण कार्यको निगरानी गर्न आह्वान गर्दै यो मार्ग बनेपछि वर्षौंदेखिका स्थानीयहरूको दुःख हट्ने र मादी गाउँपालिका, पोखरा २८ र २६ का केही भागका बासिन्दाहरूलाई पोखरा पुग्न छोटो र सरल मार्ग प्राप्त हुने बताए।
थापाले विजयपुर पुलको अर्को विकल्पको रूपमा आफ्नो वडा २६ को सिमानामा रहेको डहरे साँघु क्षेत्रमा काम सम्पन्न भइसकेको जानकारी गराएका छन र आउँदो सातादिनभित्र बुढीबजार, खराने हुँदै राखी डाँडासम्मको काम पनि सुरु हुने जानकारी दिए। त्यसपछि कालिका चोक, जल्धारे र थुमको डाँडामा पनि सडक विस्तारको काम सुरु गरिने छ।
अध्यक्ष थापाले जनताको दुःखलाई देखाएर राजनीति गर्ने परम्पराको अन्त्य गर्दै, पोखराको विकास र समृद्धिका लागि दृढ संकल्पका साथ अघि बढिरहेको प्रतिबद्धता व्यक्त गरे। नयाँ सडकको स्तरोन्नतिले पोखराको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने र यसले यहाँको आर्थिक समृद्धि र विकासलाई थप गति दिने विश्वास गरिएको छ।