सुचना, समाचार र मनोरन्जन

पोखरा महानगरपालिकाका वडा अध्यक्ष थापाद्वारा समाधान र सहकार्यको अपिल

 

पोखरा : पोखरा महानगरपालिकाको वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापाले हाल महानगरमा देखिएको राजनीतिक जटिलता र मतभिन्नताबारे आफ्ना धारणा सार्वजनिक गर्दै सहकार्य र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सबै जनप्रतिनिधिलाई अपिल गरेका छन्।

पोखरा महानगरलाई समृद्ध र समुन्नत बनाउने प्रतिवद्धतासहित निर्वाचित भएका जनप्रतिनिधिहरूले आन्तरिक विवादमा अल्झिनुको सट्टा, महानगरवासीका हितलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। अध्यक्ष थापाले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना स्थानीय तहमा उपयुक्त नहुने बताउँदै सबैलाई “हाम्रो पोखरा, राम्रो पोखरा” बनाउने साझा उद्देश्यतर्फ अघि बढ्न आह्वान गरे।

उनले हाल कार्यपालिकाको निर्णय कार्यान्वयन र कर्मचारी व्यवस्थापनका विषयमा देखिएको असहमति तथा राजनीतिक अस्थिरताले नगरवासीमा असन्तुष्टि पैदा गरेको स्वीकार्दै, यो अवस्थामा संवाद र वार्ताको विकल्प नभएको धारणा राखे। “नीति र योजनालाई प्राथमिकतामा राख्नुपर्ने ठाउँमा कर्मचारी प्रशासनलाई माईक्रो म्यानेज गर्ने कार्यले विकासमा अवरोध उत्पन्न गरेको छ,” अध्यक्ष थापाले उल्लेख गरे।

नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूबीच भएका पछिल्ला छलफललाई सकारात्मक संकेतका रूपमा लिँदै, उनले महानगरको साझा योजनालाई अगाडि बढाउन सहमति र सहकार्यको प्रतिबद्धता जनाउन आग्रह गरेका छन्।

“अहिलेसम्मका मतभेदलाई छाडेर विधि, पद्दती, र नीति नियमलाई स्थापित गर्दै आगामी दिनमा यस्ता खालका विवाद नगर्ने प्रतिवद्धता आवश्यक छ,” थापाले थपे।

उनले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर महानगरवासीको हितमा काम गर्न सबैलाई आह्वान गर्दै सहकार्यको वातावरण सिर्जना गर्न आग्रह गरे।

Leave A Reply

Your email address will not be published.