काठमाडौं :
यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक गरिएको उक्त गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको शारीरिक र मानसिक पीडा मार्मिक रूपमा प्रस्तुत गरेको छ।
गायक रामचन्द्र काफ्लेको स्वर, सङ्गीत तथा मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा किरण तुलाधरले एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ गरेका छन्।
गीतमा विशेषगरी वैदेशिक रोजगारीमा गएका युवाहरूले अन्यायपूर्ण श्रम, नियन्त्रित अवस्था, र घर–परिवारको यादले सिर्जित भावनात्मक तनावलाई मुख्य विषयवस्तु बनाइएको छ। फिल्म निर्माण टिमले गीतले विदेशिएका नेपालीहरूको वास्तविक जीवन यथार्थ चित्रण गरेको दाबी गरेको छ।
‘रियाल रिङ्गेट’ नाम पनि प्रतीकात्मक रूपमा रोजगारीको लागि नेपालीहरू बढी जाने कतार, साउदी अरेबिया (रियाल) र मलेसिया (रिङ्गेट) को मुद्राबाट लिइएको हो। चलचित्रले ती देशहरूमा श्रम गरिरहेका लाखौँ नेपालीहरूको अनुभवलाई चित्रण गर्ने उद्देश्य राखेको छ।

चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, रामचन्द्र अधिकारी, रियर राई, सीमा केसी, सन्दीप तामाङलगायत कलाकारको अभिनय रहेको छ।
प्रदीप भारद्वाजद्वारा लेखिएको कथामा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, र किरण तुलाधरको पृष्ठभूमि सङ्गीत (ब्याकग्राउन्ड स्कोर) रहेको छ। चलचित्रमा राजीव समरको कोरियोग्राफी समावेश गरिएको छ।
गीत-सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहेको छ। स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले योगदान दिएका छन्।
गीतका शब्दहरू अमर न्यौपानेसहित रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्। चलचित्रको छायाङ्कन भारतको राजस्थान र नेपालका चितवन, काठमाडौं तथा लेटाङमा गरिएको हो। फिल्मको वितरण काफिया फिल्म्सले गर्नेछ।
निर्माण पक्षले चलचित्र र गीतले वैदेशिक श्रममा गएका नेपालीहरूको जीवन यथार्थ दर्शकहरूमा प्रभावकारी रूपमा उतार्ने विश्वास व्यक्त गरेको छ।