भोजपुर : अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै भोजपुरका किसान समस्यामा परेका छन्। फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो।
लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखलेर फाल्न बाध्य भएका छन्। करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका-५ का किसान धनबहादुर थापाले बताए।
‘यस वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ’ उनले भने, ‘एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौँ। फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु।’
थापा जस्तै व्यावसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन्। स्थानीय कृषक गीता विष्टकाअनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ।
‘खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौँ’ उनले भने, ‘बारीमा भएका प्रायःसबै बोटमा रोग लागेको छ। बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ। फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ।’
रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन्। एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ। करिब एक हजार पाँच सय बोट खुर्सानी लगाएकोमा आधाभन्दा जसो बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक विष्टले बताए।
पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको संख्या बढिरहेको छ। तर, रोग-किराको जोखिमले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ।