पोखरा : पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा संचालन गर्दै आइरहेको ‘समता काव्य सन्ध्या’को ३८४औं श्रृंखला कुशेऔंसीको दिनमा परेको र सोही तिथि युवाकवि मोतीराम भट्टको पनि जन्मतिथि पर्ने भएकोले समस्त पिताहरूलाई शुभकामनाका साथै मोतीराम भट्टप्रति श्रद्धांजलि अर्पित गर्दै ‘समता काव्य सन्ध्या’ ग़ज़ल विशेष’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं विख्यात साहित्यकार सरुभक्तले ‘युवाकवि मोतीराम भट्ट छोटो समय बाँचेर पनि नेपाली साहित्यको अद्वितीय सेवा गरेको उल्लेख गरे।
समस्त युवाहरूले उनीबाट धेरै पाठ सिक्न सक्छन् भन्दै उनी नेपाली गजल विधाका प्रारम्भकर्ता भएकोले नेपाली गजल स्रष्ठाहरूले उनलाई भूल्न नसक्ने कुरा पनि बताए।
केही समय पहिलासम्म कस्तालाई गजल भन्ने र कस्तालाई नभन्ने भन्ने केही विवाद रहेको विषयमा ‘पोखरेली गजल समूह’ले गजलसम्बन्धि घोषणापत्र निकालेपछि यो विवाद अन्त भै नवोदित गजलकारहरूलाई गजल लेखनमा लाग्न नवीन उत्साह पैदा भएको उनले बताए।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले युवाकवि मोतीराम भट्टको बारेमा बोल्दै भट्ट बहुमुखी प्रतिभाशाली कवि, गीतकार,गजलकार,नाटककार,नाटक निर्देशक र जीवनीकार हुनुका साथै सँगसँगै पढ्दै, लेख्दै, सम्पादन गर्दै, पत्रिका चलाउँदै, संघसंस्था खोल्दै, पुस्तकालय खोल्दै, छापाखाना चलाउँदै, भानुभक्त आचार्यलाई प्रकाशनमा पनि ल्याउँन सफल भएको बताए।
विश्वसाहित्यका ज़ोन किट्स, शेली, सिल्भिया प्लाथ आदि झैं उनले पनि तीस वर्षमात्र बाँचेर पनि अद्वितीय काम गरेको उनले बताए।
कार्यक्रममा बिम्बकवि एवं प्राज्ञ रमेश श्रेष्ठ, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकाल, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, प्रकाश ज्ञवाली, शिव त्रिपाठी,
जमुना कायस्थ,कृष्ण सुवेदी,विर्सना बस्नेत,सुरज पौडेल,भुमिराज बस्ताकोटी,रेशम गिरी, यशोधा गौतम, नवराज न्यौपाने,त्रुपक लगायतले गजल वाचन गरेका थिए।
संस्थाकी अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत संस्थाको साहित्य विभागकी संयोजक केशु शर्माले गरेकी थिइन भनें कार्यक्रम संचालन सचिव एम.डि. काफ्लेले गरेका थिए।