सुचना, समाचार र मनोरन्जन

पोखरा- १२ को वडा कार्यालय पुन: निर्माण संयोजकमा समाजसेवी टीका बहादुर कार्की

 

पोखरा : जेनजीआन्दोलनले पोखरा महानगरपालिका सहितका वडामा सार्वजनिक सेवा प्रवाहमा गम्भीर अवरोध ल्याएपछि वडा नं. १२ ले आपतकालीन पुन: निर्माण योजना अगाडि सारेको छ । सोहीअनुसार टोल विकास संस्था, आमा समूह, क्लब, स्थानीय समाजसेवी तथा संघ-संस्थाको भेलाले वडास्तरीय पुन: निर्माण मूल समितिको संयोजकमा समाजसेवी टीका बहादुर कार्की चयन भएका छन् ।

गत साता भएको जेनजीआन्दोलनका क्रममा वडा नं. १२ को कार्यालयमा भीषण तोडफोड र आगजनी भएको थियो । कार्यालयका सम्पूर्ण अभिलेख, कम्प्युटर, फर्निचर र उपकरण जलेर नष्ट भएका छन् । भवनका झ्यालढोका, सिसा र पर्खालमा क्षति पुगेको छ । स्वास्थ्य केन्द्र र सडक संरचनाहरु पनि आंशिकरूपमा क्षतिग्रस्त भएका छन् ।

 

वडाध्यक्ष सन्तोष बास्तोलाले भने, ‘हामीले प्राथमिकता अनुसार मर्मत सुरु गर्ने छौं । वडा कार्यालय सञ्चालनमा ल्याउने पहिलो लक्ष्य हो । मूल समितिसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छौं ।’

पुन: निर्माण कार्य प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको मूल समितिको संयोजकमा टीका बहादुर कार्की, सचिवमा पूर्ण गुरुङ, कोषाध्यक्षमा लक्ष्मी कोइराला र सदस्यहरूमा डा. अनिल सुवेदी, मीन गुरुङ, दान बहादुर बस्नेत र विर बहादुर थापा रहेका छन् ।

स्थानीय बासिन्दा सुशील केसी ले भने, ‘हामी आफैंले आफ्नो वडा बनाउनु पर्छ भन्ने सोचका साथ जुटेका छौं । हामीलाई आशा छ, राज्यको साथ पनि पाइन्छ ।’

वडा-१२ को सक्रियता र तत्काल प्रतिक्रिया अन्य वडाहरुका लागि पनि प्रेरणादायी उदाहरण बन्न थालेको छ । पुन: निर्माणको प्रारम्भिक पहलले समुदायमा सकारात्मक ऊर्जा थपेको छ ।

Leave A Reply

Your email address will not be published.