चितवन : प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा चितवनका तीन क्षेत्रमा नै रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्। चितवन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार हरि ढकाल तीन हजार ५०३ मतका साथ अग्रस्थानमा छन्।
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दावादोर्जे लामा दुई हजार १०९ मतसहित देस्रो स्थानमा छन् भने तेस्रो स्थानमा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले एक हजार ७५२ मत प्राप्त गरेका छन्।
क्षेत्र नं २ मा रास्वपाका उम्मेदवर रवि लामिछानेले १० हजार ८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले तीन हजार २२७ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेका अस्मिन घिमिरेले दुई हजार ८४६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार सोविता गौतमको नौ हजार ८७९ मत प्राप्त हुँदा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहालले पाँच हजार २५६ मत प्राप्त गरेकी छिन्। त्यसैगरी नेकपा एमालेका शङ्करराज थपलियाले एक हजार ४६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना अन्य मतदाता रहेका छन्।
