सुचना, समाचार र मनोरन्जन

नारायणगढ–बुटवल सडक खण्ड विस्तारको काम सुस्त

काठमाडौँ/

नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगति अपेक्षित रुपमा हुन सकेको छैन ।

२०७९ साउनमा आयोजनाको म्याद सकिएपछि थप एक वर्षको समय पाएको थियो । काम नसकिएपछि २०८० भदौ ११ गतेदेखि लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ । अहिलेसम्म आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाको पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताए ।

नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको उहाँले बताउनुभएको छ । गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.