धनुषा : मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दोब्बरले बढेको छ । तर किसानले भने आफूहरुले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले शीतभण्डार, प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन् ।
दुई साताअघिसम्म रु १०० मा साढे दुई केजी आँप बिक्री भइरहेकामा अहिल प्रतिकेजी रु १०० मा भइरहेको छ । किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरुले भने मूल्य नपाएको किसानको गुनासो छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले बजार मूल्य बढे पनि त्यसको लाभ किसानले नपाएको बताए । उनले किसानबाट सस्तोमा खरिद गरिएको आँप बजारमा महँगो मूल्यमा बिक्री भइरहेकाले प्रभावकारी बजार अनुगमन र मूल्य व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे ।
मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताए ।
उनले शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताए ।
आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन् ।