सुचना, समाचार र मनोरन्जन

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन्। प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा पहिरोका ४० घटना दर्ता भएका छन्, जसबाट २६ जिल्ला प्रभावित बनेका छन्। पहिरोका कारण दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले घट्टमा पीठो पिस्न जाँदा पहिरोमा पुरिएर कालीकोटस्थित सान्नीत्रिवेणी–६ धाँमीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको मृत्यु भएको जानकारी दिइन्।

यस्तै बाढीका १४ घटनाले १० जिल्ला प्रभावित भएका छन्। बाढीका कारण एक जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्। मकवानपुर जिल्लामा बाढीका कारण एक जना स्कुटरसहित बेपत्ता भएको प्रवक्ता महतले बताइन्। त्यसैगरी, अविरल वर्षाका १२ घटनाबाट आठ जिल्ला प्रभावित भएका छन्। सर्पदंशका चार, आगलागीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना दर्ता भएका छन्।

Leave A Reply

Your email address will not be published.