खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो ।
वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिएका छन् ।

श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडा अध्यक्ष ध्रुवविक्रम राईलगायत सोल्मा पुगेका थिए ।
सोल्मास्थित सडकबाट उद्धार गरिएका श्रेष्ठलाई सरसफाइ गराएर नयाँ लुगा पनि लगाई दिइएको उद्धारकर्मीले बताएका छन् । शारीरिक रूपमा कमजोर भइसक्नु भएका श्रेष्ठलाई बिर्तामोड पठाउन नगरपालिकाले गाडीको व्यवस्था मिलाएको थियो ।
बेवारिसे अवस्थामा दिनरात सडकमा डुलिरहनु हुने श्रेष्ठका बुबा बेपत्ता भएको र आमाको मृत्यु भइसकेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । घरपरिवारले उपचार गर्दा ठिक नभएपछि बेवारिसे बनेर डुलिरहनु हुने श्रेष्ठलाई उद्धार गरेर आफ्नो घर नेपाल पठाइएसँगै सहज जीवनयापन गर्न पाउने भएका छन् ।
माया घर नेपालले यसअघि कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरिसकेको छ । जिल्लाबाट उद्धार गरेर पठाइएका सबैले सहज रूपमा जीवनयापन तथा अध्ययन गरिरहेको खोटाङ प्रतिनिधि ढकालले जानकारी दिए ।