यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने एक अध्ययनले चेतावनी दिएको छ ।
युनिभर्सिटी अफ सिकागोस्थित क्लाइमेट इम्प्याक्ट ल्याबका अनुसन्धानकर्ताले जुन २०२६ देखि फेब्रुअरी २०२७ सम्म एल निनोका कारण हुने अतिरिक्त गर्मीजन्य मृत्युको यस्तो अनुमान गरेका हुन् । जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढी पर्ने अध्ययनले जनाएको छ ।

अध्ययनका सहसंस्थापक माइकल ग्रीनस्टोनले एल निनो फेब्रुअरीसम्म अन्त्य हुने अपेक्षा गरिए पनि त्यसको गर्मीजन्य प्रभाव त्यसपछि पनि रहन सक्ने बताउनुभयो । उहाँका अनुसार पहिल्यै तातो क्षेत्रमा तापक्रम थप बढ्दा जोखिम निकै उच्च हुन्छ ।
अनुसन्धानकर्ताले विश्वका २४ हजारभन्दा बढी क्षेत्रमा उच्च तापक्रमले मृत्युदरमा पार्ने प्रभावसम्बन्धी तथ्याङ्कलाई मौसमी तापक्रम पूर्वानुमानसँग तुलना गरेका हुन् । अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ । त्यहाँ करिब ६६ हजार ८०० अतिरिक्त मृत्यु हुनसक्नेछ । फिलिपिन्स, भियतनाम, थाइल्यान्ड र कम्बोडियामा गरी १९ हजार ४००, इन्डोनेसियामा १९ हजार ३००, भारतमा १५ हजार ८०० र ब्राजिलमा १३ हजार ३०० अतिरिक्त मृत्यु हुने अनुमान गरिएको छ ।
गर्मीबाट हुने जोखिम घटाउन गर्मीसम्बन्धी पूर्वसूचना प्रणाली, शीतलन केन्द्र, पानी तथा स्वास्थ्य सेवा, बाहिरी कामदारका लागि सुरक्षा र वृद्धवृद्धा तथा अन्य जोखिममा रहेका समूहलाई लक्षित सहायता आवश्यक रहेको अनुसन्धानकर्ताले बताएका छन् । अत्यधिक गर्मी आउनुअघि नै स्रोत परिचालन गर्न अग्रिम वित्तीय तयारी गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।