सुचना, समाचार र मनोरन्जन

फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

 

गण्डकी : गत बुधबारदेखि सुरु भएको फ्लाइ दुबईको दुबई–पोखरा–दुबई नियमित उडान शनिबार चौथो दिनमा पनि उत्साहजनक रह्यो।

 

शनिबार साँझ ६ः०५ बजे १५६ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइ दुबईको जहाजले पोखराबाट ८३ यात्रु लिएर दुबई फर्केको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

 

 

यसअघि बिहीबार दुबईबाट फ्लाइ दुबईमार्फत १२२ यात्रु पोखरा अवतरण गरेका थिए। पोखराबाट १४३ यात्रु उक्त जहाजमार्फत दुबई गएका थिए। शुक्रबार भने खराब मौसमका कारण पोखरा–दुबई उडान रद्द भएको थियो।

 

बुधबार पहिलो उडानबाट ११३ यात्रु दुबईबाट पोखरा आएका थिए। फर्कँदा उक्त जहाजले पोखराबाट १५२ यात्रु लिएर गएको थियो।

 

उडानलाई प्रभावकारी र दिगो बनाउन लागिपरेका पोखराका पर्यटन व्यवसायीलगायत सम्बद्ध पक्ष सुरुआती दिनमा यात्रुको सङ्ख्या देखेर उत्साहित छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा–दुबई उडानको सुरुआती सङ्केत सकारात्मक र उत्साहजनक रहेको बताए।

 

‘यात्रुको बुकिङ पनि राम्रो छ, टुर्स एन्ड ट्राभल्स व्यवसायी पनि खुसी हुनुहुन्छ’, उनले भने, ‘यस उडानबाट आउने यात्रुलाई लक्षित गरी होटल, रेस्टुराँले छुट योजना ल्याएका छन्।’

 

फ्लाइ दुबईको जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबई प्रस्थान गर्ने तालिका रहेको विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए।

 

फ्लाइ दुबईले १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान सुरु गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गर्ने फ्लाइ दुबई पहिलो वायुसेवा कम्पनी हो। यसअघि केही वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरेका थिए।

 

यो उडान सुरु भएसँगै दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै मुलुकबाट सहज रूपमा पोखरा आउन सकिने भएको छ। यसबाट पोखराको पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

 

सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।

 

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान सुरु गरेको हो। दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो।

 

सरकारले अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनीलाई आकर्षित गर्न यस विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म विमानस्थलको पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ। यस्तै, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ।

Leave A Reply

Your email address will not be published.