सुचना, समाचार र मनोरन्जन

निफको तयारी तीव्र, ‘प्री-इभेन्ट’ धमाधम हुँदै

काठमाडौं :

चैत १९ देखि २३ सम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको तयारी तीव्र भइरहेको छ। अहिले निफ ‘प्री–इभेन्ट’मा प्रवेश गरेको छ । यस अन्तर्गत रहेर निफले फिल्मसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूसँग अन्तर्क्रिया कार्यक्रम जारी राखेको छ ।

नक्सालस्थित कान्तिपुर थिएटरमा बिहीबार निफले  ‘हर सिनेमा, हर भोइस’ शीर्षकमा तीन महिला निर्देशक समुन्द्र भट्ट, उषा रजक र संगीता श्रेष्ठसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। निफका अध्यक्ष केपी पाठकका अनुसार महिला मेकरहरूले फिल्म क्षेत्रमा भोग्नु परेको समस्या उजागर गर्न यो कार्यक्रम राखिएको हो।

उनले भने, ‘पुरुष प्रधान भनिदै आएको नेपाली फिल्म क्षेत्रमा महिला निर्देशकहरूले लिङ्गकै कारण कस्ता–कस्ता समस्या भोग्ने रहेछन् भन्ने कुरा उनीहरूबाटै सुनाउन खोजिएको हो । उनीहरूको आवाज बहसमा विकास होस् भन्ने हाम्रो उद्देश्य हो ।’

कार्यक्रममा तीन निर्देशकहरूले कामका दौरान महिला भएकै कारण आफूहरूले भोगेको ‘अपमान’ र कठिनाइ सेयर गरे। संगीता श्रेष्ठले महिला निर्देशकहरूको बौद्धिकता र रचनात्मक क्षमताको कदर नभएको यथार्थ सुनाइन्।  उनले भनिन्, ‘एउटा भिडियो वा फिल्म तयार हुन्छ तर, त्यसको जस महिला निर्देशकले पाउँदैनन् । ‘क्यामेराम्यानले खिचिदियो होला, सम्पादकले भिडियो तयार गर्‍यो होला । त्यसले के भूमिका छ र ?’ भन्ने कुरा सुनिन्छ । यो महिला निर्देशकको क्षमतालाई शून्यमा झार्ने काम हो ।’

महिला भएकै कारण आफूले छायाङ्कन स्थलमा निर्देशकको दर्जा नपाएको समुन्द्र भट्टले सुनाइन्। उनले भनिन्, ‘एक फिल्मको सुटिङ सकिएपछि निर्माता र क्यामेराम्यानले अनुमति बिना नै अर्को पुरुष निर्देशक खोजेर बेड सिन खिच्नुभएको छ, जुन फिल्ममा म निर्देशक थिएँ ।’

यस विषयको प्रतिकार गर्दा आफूलाई बदनाम गराउने प्रयास भएको उनको दाबी छ। अर्को फिल्ममा भिडियो सम्पादकले ‘एक साता घरमा गएर सुत्नू, बुहारी मान्छे, म आफैँ फिल्म सम्पादन गर्छु’ भनेर रचनात्मक अधिकार र पदीय मर्यादाको सम्मान नगरेको उनले सेयर गरिन् ।

महिला निर्देशकलाई विश्वास गर्ने बजारको खाँचो रहेको उनीहरूको भोगाइ छ। निर्देशक उषा रजकले सेयर गरिन्, ‘महिला निर्देशकहरूलाई बजारले पत्याउँदैन । स्पोन्सर र लगानीकर्ता भेट्नै सकिँदैन ।’

यही विषयसँग सम्बन्धित अर्को यथार्थ समुन्द्रले सेयर गरिन् । ‘बजारमा महिला निर्देशकको प्रोजेक्टमा लगानी गर्ने निर्माता पाइँदैनन् । मैले आफ्नै श्रीमान्लाई निर्माता बनाउँदा, ‘मूर्ख बुढाको सम्पत्ति सकाउने भई’ भन्ने टिप्पणी गरेको सुनेको छु ।’

फिल्म क्षेत्रमा महिला निर्देशकको बौद्धिकता र रचनामा अविश्वास प्रमुख समस्या रहेको उनीहरूको भनाइ छ । महिला भएका कारण सहकर्मीबाट अपमानजनक व्यवहार खेप्नुपर्ने दुःखद विषय रहेको उनीहरूले भोगाइ सुनाए । ‘हर सिनेमा, हर भोइस’ निफको दोस्रो ‘प्री इभेन्ट’ अन्तर्क्रिया कार्यक्रम हो । यसअघि ‘द न्यु वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तर्क्रिया गराएको थियो, जहाँ युवा फिल्म मेकरहरूबीच अन्तर्क्रिया भएको थियो ।

निफले लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम तय गरेको छ । ‘निर्माताको खोजीमा रहेका लेखकहरूका लागि अवसर’ बन्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको अध्यक्ष पाठकले बताए। उनले भने, ‘यो कार्यक्रममा लेखकहरूले आफ्नो कथा निर्माताहरूलाई सुनाउन पाउनेछन् । हामी लेखकहरूलाई कथा सुनाउने मञ्च दिन्छौँ, जहाँ निर्माताहरूको उपस्थिति रहनेछ ।’

यो कार्यक्रम निफको तेस्रो दिन अर्थात् चैत २१ गते हुने निफले बताएको छ। यसका लागि लेखकहरूले चैत ६ गतेभित्र निफमा आवेदन दिइसक्नुपर्ने छ। त्यस्तै, युवाहरूलाई फिल्म महोत्सवसँग जोड्ने उद्देश्यले‘फ्रेम योर फ्युचर’ शीर्षकको प्रतियोगिता ल्याइएको छ। यस प्रतियोगितामा सहभागी हुन आफ्नो कथामा दुई मिनेटको भिडियो बनाउनुपर्ने छ। विजेताले पन्ध्र हजार, उपविजेताले दश हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार जित्नेछन्। प्रतियोगितामा सहभागी हुनका लागि चैत ११ सम्म आवेदन दिन सकिन्छ।

Leave A Reply

Your email address will not be published.