काठमाडौं :
चर्चित अभिनेत्री तथा गतिशील लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएसँगै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।
मनोरञ्जन क्षेत्रबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी अधिकारीको उम्मेदवारीलाई नयाँ पुस्ता, महिला सहभागिता र वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ । पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी अधिकारीले अबको १० वर्ष देशप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
उम्मेदवारी दर्तापछि उनले पार्टीले अघि सारेको ‘वडा–वडामा दिगो रोजगारी’ मुख्य एजेन्डालाई कार्यान्वयन गर्ने बताइन् । उद्यमशीलता, पर्यटन, कृषि, प्रविधि र मानसिक स्वास्थ्यजस्ता विषयलाई विज्ञहरूसँग सहकार्य गरेर अघि बढाउने उनको भनाइ छ। “हामी भाषणमै सीमित होइन, समाधानसहितको ‘हाउ पार्टी’ बन्न चाहन्छौं,” अधिकारीले प्रतिक्रिया दिइन् ।
क्षेत्र नम्बर ५ कै मतदाता रहेकी अधिकारीले आफू लामो समयदेखि मतदाता भएर पनि सन्तोषजनक विकल्प नपाएको अनुभव सुनाइन् । उनले राजनीतिमा महिलाको न्यून सहभागिताप्रति चिन्ता व्यक्त गर्दै महिला सशक्तीकरणलाई परिवार र समाजको साझा मुद्दाका रूपमा अघि बढाउनुपर्ने बताइन् । “भान्सादेखि सदनसम्म महिलाको प्रतिनिधित्व हुनुपर्छ,” उनले जोड दिइन् ।
गतिशील लोकतान्त्रिक पार्टीले ‘फुल चार्ज ब्याट्री’लाई चुनाव चिन्ह बनाएको छ। निशा अधिकारीको उम्मेदवारीले काठमाडौं–५ को चुनावी माहोललाई थप रोचक बनाउने आँकलन गरिएको छ ।