सुचना, समाचार र मनोरन्जन

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोलाई

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय ५८ वर्षीया मचाडोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

समितिले मचाडोलाई आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवाका रूपमा व्याख्या गरेको छ । मचाडो नोबेल शान्ति पुरस्कार पाउने २०औं महिला हुनुहुन्छ ।

यो वर्ष शान्ति पुरस्कारका लागि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम निकै चर्चामा थियो । उहाँले आफूले विभिन्न युद्धहरू अन्त्य गराएको दाबी गर्दै पुरस्कार पाउनुपर्ने बताउँदै आउनुभएको थियो ।

अब अर्थशास्त्रतर्फको नोबेल पुरस्कार आउँदो सोमवार घोषणा हुनेछ । यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको पुरस्कार घोषणा भइसकेको छ ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोनर पाउँछन् । यदि एकभन्दा धेरै विजेता भएमा पुरस्कार रकम उनीहरूबीच भाग लगाइन्छ ।

नोबेल पुरस्कार डिसेम्बर १० मा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ ।

Leave A Reply

Your email address will not be published.