सुचना, समाचार र मनोरन्जन

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ भने सेयर बजारमा उत्साह देखिएको छ ।

युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ । यद्यपि यो मूल्य युद्ध सुरु हुनुअघि फेब्रुअरी २७ मा रहेको ६७.०२ डलरभन्दा अझै माथि नै छ ।

वैश्विक मानक मानिने ब्रेन्ट क्रुड पनि १२.८८ प्रतिशत घटेर ९५.१२ डलरमा झरेको छ ।

सेयर बजारमा उत्साह

तेलको मूल्य घटेसँगै सेयर बजारमा भने उत्साह देखिएको छ । अमेरिकाका ३० ठूला कम्पनीहरूको प्रदर्शन मापन डाउ फ्युचर्स ९०० अंकभन्दा बढीले उकालो लागेको छ ।

एस एण्ड पी ५०० र नास्ड्याक फ्युचर्स क्रमशस् २.१ र २.५ प्रतिशतले बढेका छन् ।

एस एण्ड पी ५०० ले अमेरिकाका ५०० ठूला कम्पनी समेट्छ । यसको फ्युचर्सलाई धेरै लगानीकर्ताले समग्र बजारको स्वास्थ्य बुझ्न प्रयोग गर्छन् । आर्थिक समाचार, युद्ध, ब्याजदरजस्ता विषयले यसलाई धेरै असर गर्छ ।

नास्ड्याक फ्युचर्समा मुख्यत सूचना प्रविधि क्षेत्रका कम्पनीहरु पर्दछन् । त्यसैले यसको फ्युचर्सले विशेष गरी सूचना प्रविधि क्षेत्र कस्तो हुन्छ भन्ने संकेत दिन्छ ।

एशियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको सीएनएनले जनाएको छ । जापान, दक्षिण कोरिया र हङकङमा सेयर बजार उकालो लागेको समाचारमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.