ओखलढुंगा : विगत नौ वर्षदेखि जीर्ण बनेको ओखलढुंगा सदरमुकामस्थित रमाइलोडाँडादेखि रुम्जाटार जोड्ने सडक पुनः कालोपत्र हुने भएको छ।
कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक स्तरोन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ। कार्यालयले एक महिनाभित्र बोलपत्रको प्रक्रिया टुङ्ग्याएर आउँदो दुई वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेशप्रसाद साहका अनुसार पूरै नयाँ ढंगले काम गर्ने गरी बोलपत्र आह्वान गरिएको हो। चालु योजनाअनुसार ३० करोड बजेटमा ४० एमएम बाक्लो अस्फाल्ड कङ्क्रिट कालोपत्र गर्ने तयारी छ।
पहिलो चरणमा रमाइलोडाँडादेखि सानीटारसम्मको पुरानो बिग्रिएको कालोपत्र उप्काएर नयाँ अस्फाल्ड कालोपत्र गरिनुका साथै नाली, मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल र कल्भर्टलगायतका संरचना निर्माण गरिनेछ। सानीटारदेखि रुम्जाटारसम्मको बाँकी ४.१ किलोमिटर क्षेत्रमा भने अहिले तत्काल काम हुनेछैन।
यसअघि २०७४ सालमा एसियाली विकास बैंक र स्वीस सरकारको २० करोड ६८ लाख अनुदान सहयोगमा आपत्कालीन भूकम्पीय सहयोग परियोजनाअन्तर्गत ११.१ किलोमिटर सडकमा डिबीएसटी कालोपत्र गरिएको थियो।
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत गरिएको सो कालोपत्र कमसल र गुणस्तरहीन भएकाले नौ महिनामै उप्किन थालेको थियो। पछि आयोजना सञ्चालन गर्ने कार्यालय नै खारेज भएपछि सडकको मर्मत हुनसकेन, जसका कारण ठूला खाल्डाखुल्टी र हिलोले स्थानीय नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
ओखलढुङ्गाको जिल्ला अस्पताल, रुम्जाटार विमानस्थल र प्रमुख पर्यटकीय क्षेत्रसमेत रहेको यस खण्डलाई प्रदेश सरकारले नयाँ बजेट व्यवस्थापनसहित पुनः कालोपत्रको प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दामा सहज र सुरक्षित यात्राको आशा पलाएको छ।