सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं/

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ जाँदै छन। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी उहाँले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै उहाँले बेइजिङस्थित नेपाली दूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीका साथमा  धर्मपत्नी राधिका शाक्य रहनेछिन ।

यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुुहुन्छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

Leave A Reply

Your email address will not be published.