सुचना, समाचार र मनोरन्जन

सुरक्षा निकायसँग पर्याप्त स्रोत साधन नभए चुनाव प्रभावित हुनसक्ने: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई पर्याप्त स्रोत साधन उपलब्ध नभए आउँदो प्रतिनिधिसभा चुनाव प्रभावित हुनेमा सरकार सर्तक रहेको बताए।

आज ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले प्रहरीलाई साधन स्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ काम गर्ने बताए । गएको भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिबिम्ब भएको उनको भनाइ छ ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा स्रोत साधनको अभावमा प्रहरी सङ्गठनका साथै आमनागरिकमा यसको प्रत्यक्ष प्रभाव परेको बताए । गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि बढेका समेत उल्लेख गरे । यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको उनले बताए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गएको भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताए ।

खापुङले राजनीतिक परिवर्तनको अहिलेको परिस्थितिमा र आउँदा दिनहरूमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्रका रूपमा रहेको नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए ।

Leave A Reply

Your email address will not be published.