रामेछाप : सुन्तलाले बजार नपाउँदा रामेछापका किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताए ।
आफूले करिब ५० रोपनी जग्गामा लगाएको सुन्तला गत वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उनले बताए ।
अर्का कृषक भरत वाइबा पनि आफूले दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेको तर बजार नपाएकाले समस्या भएको बताउँछन् । ‘विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी एक सयमा बिक्री वितरण हुने गरेको थियो, यस वर्ष भने प्रतिकेजी ७५/८० मै दिनुपर्ने बाध्यता छ । के गर्नु उत्पादन गरे पनि बजार नभएपछि,’ उनले भने ।
मन्थली नगरपालिका–१४ फुलासीमा अहिले प्रायः घरैपिच्छे सुन्तला बगैँचा छन् । यहाँ कसैले व्यावसायिक रूपमा त कसैले आफ्नै घरायसी उपभोगका लागि सुन्तला रोपेका छन् । यहाँ पुग्ने जो कोहिलाई पहेलपुर सुन्तलाले लोभ्याउछ ।
यसवर्ष यस वडाबाट करिब दुई करोडको सुन्तला बिक्री गर्ने लक्ष्य भए पनि मूल्य निर्धारण गरी आवश्यक बजार व्यवस्थापन नहुँदा आफूहरू मारमा परेको कृषक वाइबाले गुनासो गरे ।