काठमाडौँ :
मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को पहिलो आधिकारिक ट्रेलर (ट्रेलर-१) सार्वजनिक भएको छ। निर्माण पक्षले आज चलचित्रको कथावस्तुको झलक दिने गरी पहिलो ट्रेलर सार्वजनिक गरेको हो।
यसअघि सार्वजनिक गरिएका पहिलो र दोस्रो पोस्टरमार्फत पात्रहरूको परिचय गराइसकेको निर्माण पक्षले यस ट्रेलरमार्फत चलचित्रको कथा आंशिक रूपमा बताउने प्रयास गरेको छ। यद्यपि, कथालाई पूर्ण रूपमा नखुलाई पात्र र प्रसङ्गहरूलाई रहस्यमयी नै राखिएको छ।
ट्रेलरमा आफूलाई स्वर्गबाट आएको बताउने युधिष्ठिरले भीम, अर्जुन, नकुल र सहदेवको खोजी गरिरहेको देखिन्छ। तर, उनीहरूलाई केका लागि खोजिएको हो भन्ने कुरा भने स्पष्ट पारिएको छैन।
पृथ्वीमा भइरहेको आन्दोलन, दमन, यातना र अपराधका दृश्यहरूबीच सुन्दर युवतीको आकर्षणमा स्वयं युधिष्ठिर मोहित भएको देखाइएको छ। कुनै निश्चित लक्ष्य बोकेर हिँडेका युधिष्ठिर बीचमै अलमलमा परेको दृश्यले, नेतृत्व तहले आफ्नो मूल उद्देश्य पूरा नगरी बीचमै भड्किने वा पतन हुने समकालीन यथार्थलाई बिम्बका रूपमा सङ्केत गरेको देखिन्छ। चलचित्रका मुख्य पात्रहरू एकातिर पाँच पाण्डवका रूपमा र अर्कातिर आधुनिक समाजका पात्रका रूपमा प्रस्तुत भएकाले सिनेमालाई थप कौतूहलपूर्ण बनाएको छ।

चलचित्रमा पाँच पाण्डवको रूपमा हरिवंश आचार्य (युधिष्ठिर), जितु नेपाल (भीम), आर्यन सिग्देल (अर्जुन), महेश त्रिपाठी (नकुल) र सुशील सिटौला (सहदेव) रहेका छन्। त्यस्तै द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन्। चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्मित यस चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने काली रानी श्रेष्ठ निर्माता रहेकी छन्। प्रस्तुतकर्ता श्रेष्ठले यसअघि गत वर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। लेखक सुशील पौडेलका अनुसार यो एक सोसल ड्रामा हो, जसले महाभारतका पात्र र बिम्बहरू प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्छ।
वसन्त निरौलाको निर्देशन रहेको यस चलचित्रका छायाकार श्याम तामाङ र सम्पादक सुप्रिम पराजुली हुन्। चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, सुजिल कर्माचार्यको बिजिएम, उत्तम न्यौपानेको साउन्ड डिजाइन, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतमको एचओपी तथा विष्णु बुढाथोकीको प्रोडक्सन म्यानेजमेन्ट रहेको छ।
आगामी तिहारको अवसर पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले वितरण गर्नेछ। निर्देशक निरौलाका अनुसार दर्शकले सिनेमा हलमा डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन्।