काठमाडौं :
कात्तिक २० गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ। निर्माण टिमले आज ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक गरेको हो। दाजुभाइबीचको मिलन र भातृत्व दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द छ।
गीतले दाजुभाइबीचको सम्बन्ध, आपसी विश्वास र एकताको भावलाई प्रस्तुत गरेको छ। स्वर्गलोकका युधिष्ठिर धर्तिलोकमा रहेका आफ्ना भाइहरू समस्यमा परेपछि खोजि गर्दै आइपुगेको देखाइएको छ। चलचित्रको कथावस्तुको भाव बुझ्नसमेत सहयोग गर्ने गीतमा भाइभाइबीचको एकतामा रहेको शक्ति र त्यसको अर्थ बताउने थिम समात्ने प्रयास गरेको बुझ्न सकिन्छ। किनकि ‘पाँच पाण्डव’ दाजुभाइबीचको सम्बन्धको कथा हो। गीतको भिडियोमा सिनेमाका मुख्य पात्र छन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिक्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देखाएको छ। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियो श्याम तामाङले खिचेका छन्।

बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने निर्देशक वसन्त निरौलाले बताएका छन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ।
यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्मातामा काली रानी श्रेष्ठ छिन्।‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ। यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
यो चलचित्रलाई श्याम तामाङले खिचेका छन्। चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा फाइट डाइरेक्टरमा सम्राट बस्नेत छन्। गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।
सम्पादन सुप्रिम पराजुलिले गरेका छन्। गीतको अन्तिममा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन्। कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदै चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ।