काठमाडौं :
वसन्त निरौलाको निर्देशनमा निर्माणाधिन फिल्म ‘पाँच पाण्डव’मा अभिनेता सुशील सिटौलाको प्रवेश भएको छ। आधा भन्दा बढि सुटिङ सकिएको यो फिल्ममा सिटौलाको इन्ट्री भएको हो।
निर्माण टिमले उनलाई सागर लम्सालको ठाउँमा अनुबन्ध गरेको हो। उनी पाँच पाण्डवमध्ये एकको भूमिकामा अभिनय गर्ने यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठले मिडियाकर्मीलाई बताए। उनले कुराकानीमा भने, ‘हामीले खोजेस्तै अब्बल कलाकार हाम्रो चलचित्रमा भित्र्याएका छौँ।’
यस फिल्ममा सुशीलका अलवा हरिवंश आचार्य,जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन्। साथै सहायक भुमिकामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया,प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरी रहेका छन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन्।
गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस फिल्ममा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ काम गरिरहेका छन्। फिल्म ‘पाँच पाण्डव’ ‘सोसल ड्रामा’ भएको लेखक सुशील पौडेलले स्पष्ट पारेका हुन्। उनका अनुसार फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ। काली रानी श्रेष्ठले लगानी गरेको यो फिल्म झापा आसपासमा छायांकन भइरहेको छ।