पोखरा : गीत बज्ने तर त्यसका स्रष्टा ओझेलमा पर्ने प्रवृत्तिविरुद्ध पोखराबाट सशक्त आवाज उठेको छ। अब कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक÷गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।
पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत÷सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक÷गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा प्रस्तुत अवधारणापत्रमार्फत यस्तो माग अघि सारिएको हो। प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेर सात बुँदे अवधारणापत्र तयार पारिएको जानकारी दिए।
अधिकारीका अनुसार अवधारणापत्रले एउटा गीत शब्द, सङ्गीत र स्वरको संयुक्त सृजना भएकाले तीनै पक्षको समान पहिचान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ। त्यसअनुसार रियालिटी शो, प्रतियोगिता, मञ्चीय कार्यक्रम वा नृत्य प्रस्तुतिमा समेत गीतकार, सङ्गीतकार र गायक÷गायिकाको नाम अनिवार्य उच्चारण गर्नुपर्र्नेे प्रस्ताव गरिएको छ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले साङ्गीतिक क्षेत्रभित्र देखिएको पहिचानको समस्या समाधान गर्न अब केवल बहस होइन, व्यवहारमै परिवर्तन आवश्यक रहेको सन्देश पोखराबाट उठेको बताए। गीतसँगै स्रष्टाको नाम पनि गुञ्जिने वातावरण बनाउन सकेमात्र सर्जकको सम्मान र अधिकार सुनिश्चित हुने तथा स्रष्टाको नाम उच्चारण गर्ने विषयमा विशेषगरी सञ्चारमाध्यमहरू सचेत हुनुपर्ने उनको भनाइ छ। उनले स्रष्टाले आफ्नो अस्तित्वको खोजी गरिरहेको उल्लेख गर्दै रोयल्टी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आफ्ना गीत अरूकै नाममा रेकर्ड हुने र प्रस्तुति दिँदा नामसमेत नलिइने अवस्थाप्रति दुःख व्यक्त गर्दैै कार्यक्रम स्रष्टाको न्यायका लागि केन्द्रित भएको बताइन्। उनले प्रतिलिपि अधिकारबारे सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन्। विम्बकवि तथा गीतकार रमेश श्रेष्ठले स्रष्टाबिना सृजना सम्भव नहुने भन्दै स्रष्टालाई प्राथमिकता दिनुपर्ने बताए। त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले गुणस्तरीय सङ्गीत उत्पादनका लागि गीतकार, सङ्गीतकार र गायक÷गायिकाबीच संवाद र सहकार्य आवश्यकतामा जोड दिए।
गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ले एकले अर्काको अस्तित्व स्वीकार्नुपर्ने बताए। गायक कर्णदास, गायक रामभक्त जोजिजू, गायक विनोद बानियाँले देशविदेशमा हुने प्रस्तुतिहरूमा गीतसँग सम्बद्ध सबैको नाम अनिवार्य उच्चारण गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र केसी ‘देवु’ र गुरुङ चलचित्रका नायक ताराबहादुर गुरुङलगायतले पनि अवधारणापत्रमाथि धारणा राखेका थिए। कार्यक्रमकै अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गर्नुका साथै २४ नयाँ आजीवन सदस्यलाई सदस्यता प्रदान गरिएका सचिव रुपिन्द्र प्रभावीले जानकारी दिए।