काठमाडौं :
लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज मिति तय गरेको छ। ‘पाँच पाण्डव’ तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो। मिति तय भएसँगै यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने भएको छ ।
प्रस्तुतकर्ता नवीन श्रेष्ठले उपयुक्त समयमा प्रदर्शन मिति घोषणा गरिएको बताएका छन्। श्रेष्ठ भन्छन्,‘वितरक टिमसँगको सल्लाहमै प्रदर्शन मिति घोषणा गरेका हौं। राम्रो मिति रोजेकाले व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वस्त छौं।’
चलचित्र वितरणको जिम्मा लिएका आरआर फिल्म्सका रोहित कट्टेलले ‘पाँच पाण्डव’प्रति आफूहरू निकै उत्साहित रहेको बताएका छन्।
वितरणबारे आफ्नो धारणा राख्दै कट्टेलले भने, ‘हामीले फिल्मको कन्टेन्ट र यसमा रहेका कलाकारहरूको बलियो लाइनअप हेरेर नै वितरणको जिम्मा लिएका हौं। तिहारजस्तो ठूलो चाडमा दर्शकले खोज्ने भनेकै पूर्ण मनोरञ्जन हो, जुन यो फिल्मले दिनेछ। ‘पाँच पाण्डव’ व्यावसायिक र कलात्मक दुवै हिसाबले सफल हुनेमा हामी विश्वस्त छौं । त्यसैले हामीले उत्कृष्ट मिति रोजेका हौं ।’
विषयवस्तु, कलाकार, निर्माण टिम र प्राविधिक पक्ष बलियो बनाउने तयारीका कारण यो चलचित्र प्रतिक्षित बनेको छ। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन्। साथै, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र मोडल इभा गिरीलगायतका कलाकारहरूको पनि मुख्य भूमिका रहनेछ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरिरहेका छन्। चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूले एकसाथ काम गरिरहेका छन्।
चलचित्र ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित रहेको लेखक सुशील पौडेलले बताएका छन्। कथा, पटकथा तथा संवाद पनि उनकै रहेको छ। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।
नवीन श्रेष्ठले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको निर्माण काली रानी श्रेष्ठले गरिरहेकी छिन्। चलचित्रका अधिकांश दृश्यहरू झापाका रमणीय तथा महत्वपूर्ण स्थानहरूमा खिचिनेछन् भने बाँकी छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिने निर्माण टिमको भनाइ छ।
हाल ‘पाँच पाण्डव’को छायांकन झापास्थित एचएमसी न्यू हिकोला होटलमा भइरहेको छ, जहाँ भव्य इन्टेरियर दृश्यहरू खिचिँदै छन् । उक्त स्थानको काम सकिएपछि टोली अन्य स्थानतर्फ जाने निर्देशक निरौलाले बताएका छन्।यस चलचित्रको छायांकन श्याम तामाङले गरिरहेका छन् भने वितरण आरआर फिल्म्सले गर्नेछ।