बागलुङ/
समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो ।
बागलुङको पर्यटकीय क्षेत्र बेलढुङ्गालाई पञ्चकोटसँग जोड्नका लागि २०७७ सालमा साइकल लेनको अवधारणा ल्याइएको थियो । सुरुको दुई वर्ष साइकल लेन बनाउन बजेट समेत गण्डकी प्रदेशले विनियोजन गरेको थियो । अहिलेसम्म कच्ची र पक्की गरेर जम्मा दुई किलोमिटर साइकल लेन निर्माण भइसके पनि बजेट अभावले काम रोकिएको छ ।
कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा आएको छ । उक्त गन्तव्यलाई नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको पञ्चकोटसँग जोड्नका लागि नौ किमी साइकल लेन बनाउने र साहसिक पर्यटकलाई जङ्गलको बाटो पञ्चकोट हुँदै बेलढुङ्गा पुर्याउने लक्ष्यका साथ निर्माण थालिएको साइकल लेन तीन वर्षयता अघि बढ्न नसकेको काठेखोला गाउँपालिका–३ स्थित बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले जानकारी दिए ।