सुचना, समाचार र मनोरन्जन

विश्व पानी दिवसको अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्यको शुभकामना

पोखरा,

विश्व पानी दिवसको अवसरमा मेयर धनराज आचार्यले सम्पूर्ण पोखरा महानगरवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन।

मेयर आचार्यले यस विशेष दिनले पानीको महत्त्वबारे सबैलाई सचेत गराउने विश्वास व्यक्त गर्दै महानगरपालिका शुद्ध खानेपानी व्यवस्थापनका लागि निरन्तर सक्रिय रहेको जानकारी दिए । उनका अनुसार गत वर्ष जाईकाको सहयोगमा वडा नं. १९ मा निर्माण सम्पन्न शुद्ध खानेपानी परियोजनामार्फत साबिक उपमहानगर क्षेत्रका नागरिकहरूलाई धाराबाटै सिधै पिउन मिल्ने गुणस्तरीय पानी वितरण भइरहेको छ।

उनले बर्खा सुरु हुनु अगावै घरका अण्डरग्राउन्ड तथा छतमा राखिएका पानी ट्याङ्कीहरू नियमित सफा गर्न नगरवासीलाई अनुरोध गरेका छन। “पाइपबाट आउने शुद्ध पानी पनि घरभित्र प्रयोग गर्दा दूषित हुन सक्ने जोखिम रहन्छ,” उनले उल्लेख गरे।

त्यसैगरी, लेखनाथ क्षेत्रमा सञ्चालनमा रहेको साना सहरी खानेपानी परियोजनाले पनि गुणस्तर सुधार तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको उनको भनाइ छ। विभिन्न उपभोक्ता समिति तथा सहलगानीका परियोजनामार्फत ‘एक घर–एक धारा’ लक्ष्य हासिल गर्ने दिशामा महानगर अघि बढिरहेको मेयर आचार्यले बताए।

उनले अझै पनि पिउने पानीको अभाव भएका घर तथा बस्तीहरूलाई आगामी वर्ष प्राथमिकतामा राखिने जानकारी दिँदै पानीसम्बन्धी समस्या भए महानगरपालिकाको खानेपानी शाखामा निवेदन दिन आग्रह गरे। “शुद्ध पिउने पानी नागरिकको मौलिक अधिकार हो,” उनले जोड दिए ।

मेयर आचार्यले पानीको अभाव भएका क्षेत्रमा खानेपानी संस्थान तथा निजी क्षेत्रसँग सहकार्य भइरहेको र देखिएका स्थानीय समस्याहरू सहमतिका आधारमा समाधान गरिँदै आएको पनि स्पष्ट पारे ।

अन्त्यमा उनले सबै नगरवासीलाई दैनिक कम्तीमा दुई लिटर शुद्ध पानी पिउने बानी बसाल्न आग्रह गर्दै पानीको संरक्षण र सुरक्षा सामाजिक न्यायसँग जोडिएको विषय भएको बताए।

“शुद्ध खानेपानीमा सबैको समान अधिकार, हाम्रो सरोकार” भन्ने नारासहित उहाँले विश्व पानी दिवसको शुभकामना व्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.