काठमाडौं :
तीन दिन अघि रिलिज भएको फिल्म ‘परान’को पहिलो गीत ‘ओई भन्दानी बोलेन’ले दश लाख भन्दा बढि भ्युज बटुलेको छ। गीत सार्वजनिक भएको छोटो समयमा नै यो गीतले एक लाख बढि भ्युज बटुलेको हो।
कात्तिकको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको पछिल्लो समय चर्चामा छ। टिकटकमा पनि दर्शकले उतिकै रुचाएका छन्। युटुबमा यो गीतलाई सकरात्मक प्रतिक्रिया दिएका छन्। फिल्मको कथा अनुसार विवाहको परिवेशमा खिचिएको यस गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, अञ्जना बराइली लगायतका कलाकारहरूले नृत्य गरेका छन्।
गायनमा पनि उतिकै गायकगायिकाहरुको भिड देखिन्छ। पछिल्लो समयका चर्चित गायक प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कँडेल, रचना रिमाल, सलिना बीकले गीतलाई गाएका छन्। दीपकप्रसाद आचार्य र अनिश अधिकारीले मिलेर यो गीत लेखेका हुन् भने गीतमा रिदम कँडेलको संगीत रहेको छ। भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्।
गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले यो फिल्मको निर्माण गरेको यो फिल्मका निर्माता रञ्जित आचार्य र शेखर गोल्छा हुन्। सक्किगोनीका काकु उपनामले परिचित दीपक प्रसाद आचार्यको निर्देशन तथा कथा रहेको यो फिल्मको पटकथा तथा संवाद यम थापाको छ।