काठमाडौं :
तिहार पर्व सुरु भएसँगै आज यमपन्चकको दोस्रो दिन घरघरमा लक्ष्मी पुजा गरिदैछ । यसैबिच कलाकारहरु पनि यतिबेला लक्ष्मी पुजाको तयारी गरिरहेका छन् । साथै आज कुकुर तिहार पनि, कुकुरलाई मिठा मिठा परिकार दिएर कुकुर तिहार पनि मनाइदैछ। यो पर्वको माहोलमा तिहार सकिए लगत्तै कार्तिक १४ बाट ‘परान’ फिल्म रिलिजको तयारीमा छ । यसै फिल्मका मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले यमपन्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन्।
आइतबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा ‘परान’ टिमको सहभागीता थियो । जसमा नायिकाद्धय केकी र अन्जनासँगै फिल्मका निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिती थियो। साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो। जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए।