काठमाडौं :
निर्देशक कृषा चौलागाईँको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का लागि अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार जसितालाई औपचारिक रूपमा फिल्मका लागि अनुबन्ध गरेको हो।
यसअघि फिल्मका लागि अभिनेता निखिल उप्रेती अनुबन्धित भइसकेको समाचार सार्वजनिक भइसकेको छ। जसिताको अपोजिटमा निखिल उप्रेती देखिने चर्चा भए पनि निर्माण पक्षले यसबारे औपचारिक पुष्टि भने गरेको छैन। फिल्मका अन्य कलाकार को–को रहनेछन् भन्ने विषयमा पनि निर्माण टिमले हालसम्म जानकारी सार्वजनिक गरेको छैन।
निखिल उप्रेतीको अनुबन्धपछि दर्शकमाझ फिल्मप्रति चासो बढेको छ भने अब जसिता गुरुङको इन्ट्रीसँगै कौतुहलता थपिएको निर्माण पक्षको बुझाइ छ। एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा निखिल र जसिताको जोडी दर्शकका लागि फरक स्वाद हुने अपेक्षा गरिएको छ।
फिल्मका लागि दुवै पक्षबीच कागजी सम्झौता भइसकेको निर्देशक चौलागाईँले जानकारी दिइन्। उनले भनिन्, “फिल्मको कथाअनुसार नै कलाकारहरू फाइनल गर्दै लगेका छौँ।”
केपी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले लेखेका हुन्। छायांकनको जिम्मेवारी चर्चित छायाँकार पुरुषोत्तम प्रधान (डीओपी)ले सम्हाल्नेछन्।
यसअघि कृषा चौलागाईँले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन्। ‘पारस’ उनको तेस्रो निर्देशकीय फिल्म हुनेछ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन आगामी फागुन महिनादेखि फ्लोरमा जाने तयारी गरिएको छ।
