काठमाडौं :
आजबाट देशभरका हलमा प्रदर्शनमा आएको नेपाली फिल्म ‘आ बाट आमा’ सेन्सर पास भइसकेको छ। केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले दुई दिनअघि फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको थियो।
सेन्सर पासको क्रममा फिल्म हेरेपछि सेन्सर बोर्डका सदस्यहरू भावुक बनेका थिए। उनीहरूले फिल्मको कथावस्तु र कलाकारको अभिनयले दर्शकको मन छुने प्रतिक्रिया दिएका छन्।
सेन्सर बोर्डका सदस्य तथा वरिष्ठ पत्रकार कुबेर गिरीले फिल्मको कथा आकर्षक र लोभलाग्दो रहेको बताए। उनले व्यक्तिगत रूपमा आफूलाई फिल्म मन परेको र हेर्दा धेरै पटक भावुक भएको प्रतिक्रिया दिए। उनका अनुसार यसअघि पनि आमाको कथामा फिल्म बनेका भए पनि ‘आ बाट आमा’ जति भावुक नभएको अनुभव छ।
“आमाको विषयमा केही फिल्म बनेका छन्। ती सबैमा आमाको दुःख देखाउने प्रयास गरिएको थियो,” फिल्म हेरिसकेपछि उनले भने, “तर ‘आ बाट आमा’ भिन्न छ। यसले आमाको कथालाई फरक तरिकाले प्रस्तुत गरेको छ, जुन आकर्षक र लोभलाग्दो छ। व्यक्तिगत रूपमा यो फिल्म मलाई मनपर्यो।”
उनले थपे, “फिल्म हेर्दा म धेरै भावुक भएँ। पारिवारिक कथामा बनेको यो फिल्मले मलाई मात्र होइन, धेरै दर्शकलाई रुवाउन सक्छ।”
फिल्म प्रदर्शनका क्रममा अन्य सेन्सर बोर्ड सदस्यहरू तथा उपस्थित निर्माण पक्षका सदस्यहरूको पनि आँखा रसाएको देखिन्थ्यो। सेन्सर बोर्डकै अर्का सदस्य सम्पर्ण श्रेष्ठले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए।
“पछिल्लो समय नेपाली फिल्महरू निकै राम्रो बन्न थालेका छन्,” उनले भने, “तीमध्ये ‘आ बाट आमा’ नेपाली पारिवारिक कथाले भरिएको उत्कृष्ट फिल्म हो। यो फिल्म हलमा गएर हेर्न दर्शकलाई आग्रह गर्छु।”
सेन्सर बोर्डका सदस्यहरूको सकारात्मक प्रतिक्रियापछि निर्माण पक्ष फिल्मप्रति उत्साहित देखिएको छ। चुनावी माहोल तातिरहेको समयमा पनि फिल्मको चर्चा र हाइप घटेको छैन।
फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ ले पनि दर्शकलाई भावुक बनाएको प्रतिक्रिया आइरहेको छ। यी गीतहरूले युट्युबमा ३० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। उनकै कथा तथा पटकथा रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ।
टिजर, ट्रेलर र गीतमार्फत् पहिल्यै चर्चा बटुलिसकेको फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ। कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। संवाद अभिमन्यू निरवीद्वारा लिखित छन्, जसमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ।
फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्। छायाङ्कन नवराज उप्रेती, सम्पादन मिलन श्रेष्ठले गरेका छन्। ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।