पोखरा : पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नवौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरिएको हो।
मुख्यमन्त्री पाण्डेले संग्रहालयले नेपाललाई विश्वसामु प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। “पर्वतीय संग्रहालय हिमाल, पहाड, र जनजीवनबारे जानकारी लिन चाहने सबैका लागि ज्ञानको पाठशाला हो,” उनले भने।
जलवायु परिवर्तन र पर्यटनलाई मुख्य मुद्दा
महोत्सवमा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावलाई विशेष महत्व दिइएको छ। हिमालमा हिउँ कम हुँदै जानु, जनजीवनमा परेको कठिनाइ, र त्यसलाई समाधान गर्न आवश्यक कदमबारे विज्ञहरूसँग अन्तरक्रिया हुने बताइएको छ। संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेका अनुसार महोत्सवले हिमाली क्षेत्रका समस्याहरू उजागर गर्दै समाधानका उपाय पहिल्याउने उद्देश्य राखेको छ।
सांस्कृतिक र साहसिक गतिविधिहरू
महोत्सवमा आर्चरी, छेलो, जिपलाइन, र बोल्डरिङजस्ता साहसिक गतिविधिहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। साथै, हिमाली क्षेत्रमा आधारित जनचेतनामूलक नाटक र सांस्कृतिक प्रस्तुतीहरूले महोत्सवलाई जीवन्त बनाएको छ।
चार दिने कार्यक्रम
महोत्सवको पहिलो दिन पर्वतीय जीवन र अनुकूलनबारे छलफल भयो। दोस्रो दिन हिमाली पर्यटनका सम्भावना र अवसरबारे विज्ञहरूको प्रस्तुति हुनेछ। तेस्रो दिन ‘शौचालय व्यवस्थापन’ विषयमा अन्तरक्रिया हुने बताइएको छ। अन्तिम दिन अन्नपूर्ण क्षेत्रमा जलवायु परिवर्तनका प्रभावबारे विशेष विमर्श गरिनेछ।
उच्चस्तरीय सहभागिता
महोत्सवको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट, प्रदेश सांसद सरस्वती गुरुङ, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, कृषि मन्त्रालयका सचिव डा. टंकप्रसाद प्रसाईलगायतले आफ्नो मन्तव्य व्यक्त गरे।
यो महोत्सवले गण्डकी प्रदेशका पर्वतीय पर्यटन गन्तव्यहरूको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनका असरबारे जनचेतना बढाउन, र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने विश्वास गरिएको छ। महोत्सव मंसिर २७ गतेसम्म जारी रहनेछ।