पोखरा,
बजार अनुगमनको नाममा व्यवसायीहरुमाथि अभद्र व्यवहार गरिएको तथा दण्ड र जरिवानाको रसिद थमाएर वर्षौं लगाएर बनाएको ब्राण्ड नै नष्ट गरिएको गुनासोपछि पोखरा उद्योग वाणिज्य संघले प्रशासनिक निकायसँग संवाद र दवाब दुवै बढाएको छ ।
सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई यो विषयमा ध्यानाकर्षण गराएको पोखरा उद्योग वाणिज्य संघले मंगलबार प्रजिअ गुरुङको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, सशस्त्र प्रहरी बल,कालिका गण मालेपाटनका प्रमुख एसपी वसन्तबहादुर सिंह तथा जिल्ला प्र्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्री नवीन कार्कीको विशेष उपस्थितिमा संघअन्तर्गत एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाको धन्यवाद तथा महासचिव सुदीप प्रधानाङ्गको संचालनमा सम्पन्न भएको सो कार्यक्रममा संघअन्तर्गतका बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्यसहित विषय प्रवेश गर्दै संघकी अध्यक्ष शोभा गौतमले पोखरा उद्योग वाणिज्य संघले बजारमा अनुगमन नगर्न र गलत गर्नेलाई कारवाहीबाट उन्मुक्ति दिइयोस् भन्ने माग नराखेको बताउँदै अगाडि भनिन्,‘अनुगमनको क्रममा मानवीय कमजोरीका कारण देखिएका कतिपय कमजोरीलाई त्यही रुपमा हेरियोस्,सच्चिने मौका दिइयोस् र कारवाहीबापत् जरिवानाको रसिद बुझाउँदा लडाइँ नै जितेजस्तो हल्लाखल्ला गर्दै व्यवसायीको मान मर्दन हुने काम नगरियोस् भन्ने हाम्रो माग हो ।’
उपभोक्ताको अधिकारको पैरवी भइरहँदा उद्योगी÷व्यवसायीहरुको अधिकारको पनि संरक्षण हुनुपर्ने तथा व्यवसायीहलाई सच्चिने मौका दिनुपर्ने उनको भनाइ थियो ।
‘वर्षौं लगाएर बनाएको ब्राण्ड ध्वस्त हुने गरी गरिने प्रचारबाजीले उहाँहरुलाई सच्चिने मौका नै दिँदैन बरु सिध्याइदिन्छ,’उनले भनिन्,‘कानूनको डण्डा चलाउँदा कसैको व्यवसाय ध्वस्त पार्ने काम नगरौँ, कसैलाई उठ्नै नसक्ने, अनुहार नै देखाउन नमिल्ने गरी अपराधी करार नगरियोस् ।’
उनले एमआरपीभन्दा बढी मूल्य नलिन,सामान बेचेपछि बिल बिजक जारी गर्न तथा कम मूल्यमा सामान खरिद नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह पनि गरिन् ।
अध्यक्षले विषय प्रवेश गरेपछि बोल्ने व्यवसायीहरु उद्योगी÷व्यवसायीहरुले चाहीँ अनुगमनको क्रममा अमूक व्यक्तिलाई दोषी करार गर्ने प्रवृत्ति सही नभएको र अनुगमनभन्दा अगाडि नै सचेतना कार्यक्रमहरु आयोजना गरिनुपर्नेमा जोड दिए ।
उता,प्रमुख अतिथि प्रजिअ गुरुङ तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाहीँ खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत रहेर गरिने ‘बजार अनुगमन’ उपभोक्ताको स्वास्थ्य र आर्थिक सुरक्षा एवं उद्योगी÷व्यवसायीका निम्ति ‘स्वच्छ व्यवसायी’ मा दर्ज हुने अवसर भएको बताए । साना व्यवसायीहरुलाई ठूलो रकम जरिवाना गरिनु उचित नभएकोमा पनि दुवैजना सहमत देखिए ।
कार्यक्रममा बोल्दै कास्कीका प्रजिअ गुरुङले आफू व्यवसायीको अधिकार रक्षा एवं सहजीकरणका निम्ति सधैँ सकारात्मक रहेको तर उपभोक्ता हितको पक्षमा काम गर्ने सवालमा कसैसँग सम्झौता नहुने बताए ।

पोखरा महानगपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले असल व्यवसायीले पटक–पटक आफ्नो व्यवसायको अनुगमनको माग गर्नुपर्ने तर्क गर्दै आफूले उपभोग गर्न नसक्ने बस्तु अर्कालाई बिक्री नगर्न व्यवसायीसँग आग्रह गरे । सामान्य किराना पसल चलाउने व्यक्तिलाई ३ लाख जरिवाना उचित नभएको पनि उनले बताए ।बजार अनुगमनको क्रममा कसैलाई बदनामी गर्न नहुनेमा जोड दिँदै उनले अनुगमनमा जाने संचारकर्मीले त्यहीँबाट प्रत्यक्ष प्रशारण गर्दा पत्रकारिता आचारसंहिता विपरीत हुने जिकिर पनि गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सञ्जिवबहादुर कोइरालाले अनुगमनको क्रममा कैफियत भेटिए कारवाही जायज भए पनि अनुगमनमा जाँदा प्रत्यक्ष प्रशारण गर्दै कसैलाई दोषी करार नगर्न आग्रह गरे ।साँच्चिकै अनुगमन गर्ने हो भने पहिला पोखरामा अवैध रुपले संचालन भएका व्यवसायमा आँखा लगाउनुपर्नेमा पनि उनको जोड थियो ।
व्यवसायी मोती भुजेलले १२० रुपैयाँ किलोग्राममा किनेको चिनी व्यवसायीले ११० रुपैयाँमा बेच्न नसक्ने बताउँदै अनुगमन टोलीका व्यक्तिहरुले विषयबस्तुबारे कम जानकारी राख्ने गरेको जिकिर गरे । उनले प्रशासकले प्रशासन नै चलाउनुपर्ने तर शासन चलाउन नहुने पनि बताए ।
अर्का व्यवसाी खगेन्द्र केसीले दर्ता बिना चलेका फर्निचर उद्योगलाई करको दायरामा ल्याउन माग गरे ।
चिन्तामणि खरेलले अनलाइनमा सस्तो मूल्य राखेर विभिन्न विद्युतीय सामग्री बिक्रीको प्रचार गरिएको बताउँदै त्यो प्रवृत्ति रोक्नुपर्ने धारणा राखे ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य गोविन्दबहादुर केसीले सचेतनापछिमात्र बजार अनुगमन हुनुपर्नेमा जोड दिए ।
कार्यसमिति सदस्य राम कँडेलले अनुगमन हल्लाका निम्ति हुन नहुनेमा जोड दिए । व्यवसायी शोभाकान्त चापागाईंले खाद्य र अखाद्य बस्तु छुट्याउने बस्तुनिष्ठ आधारबारे जानकारी दिनुपर्ने बताए ।
विजेन्द्र चौधरीेले अनुगमनमा विज्ञलाई समावेश गर्नुपर्ने बताए ।होमनाथ ढकालले साना व्यवसायीलाई टिकाउन ठूला व्यवसायीमाथि निगरानी बढाउन माग गरे ।
व्यवसायी उषा तिमिल्सिनाले व्यवसायीलाई चोरेर ल्याएको सामान बेचेजस्तो व्यवहार नगर्न आग्रह गर्दै फुटपाथमा हुने अवैध व्यवसाय रोक्न माग गरिन् ।
कमल न्यौपानेले पानीपुरी र चटपटजस्ता फुटपाथमा बेचिने खाद्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने बताए । तेजेन्द्र पौडेलले अनुगमन गर्दा सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिए ।
यस्तै व्यवसायी विष्णु अधिकारीले दर्ता नभएका अटोका काम गर्नेलाई करको दायरामा ल्याउनुपर्ने बताए ।