पोखरा/
१९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ । गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको आयोजक भूपू खेलाडी मञ्चले जानकारी दिए ।
प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।
यो रकम हालसम्मकै उच्च बचत रहेको बरुवालको भनाई छ । उक्त रकम मञ्चको अक्षयकोषमा जम्मा गरिएको छ । म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले अक्षयकोष सञ्चालन गरिएको छ ।
कोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ जम्मा भएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । कुनैबेला आर्थिक अभावकै कारण ३ पटकसम्म म्याराथन स्थगित भएको थियो । सहयोगीहरू बढ्दै गएपछि अहिले म्याराथनबाट आम्दानी हुन थालेको उनले बताए ।