सुचना, समाचार र मनोरन्जन

पोउवा संघका ८ स्वतन्त्र उम्मेदवार सदस्यलाई व्यवसायीको बलियो समर्थन

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा स्वतन्त्र रूपमा कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारले व्यवसायी मतदाताको समर्थन बढ्दै गएको दाबी गरेका छन्।

महेन्द्रपुल, नयाँबजार, न्युरोड, बगर, लामाचौरलगायत क्षेत्रमा गरिएको घरदैलो तथा भेटघाटका क्रममा व्यवसायी मतदाताले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकोमा उम्मेदवारहरूलाई धन्यवाद दिँदै समर्थन जनाएका हुन्।

मतदाताले कुनै पनि अध्यक्षीय प्यानलमा आबद्ध नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिनु सकारात्मक भएको भन्दै आगामी अधिवेशनमा समेत स्वतन्त्र उम्मेदवारीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

स्वतन्त्र समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका अमृत पोखरेल, सूर्यराज घिमिरे ‘सुरेश’, दुर्गा बराल, नवीन नापित, मनोहरि पौडेल, राम कँडेल, कमलबहादुर सुनार र भानुभक्त अधिकारी घरदैलो अभियानमा सहभागी छन्।

उम्मेदवारहरूले व्यवसायीको हकहित संरक्षण, कर प्रणालीमा सुधार, बजारलाई चलायमान बनाउने तथा उद्योग–व्यवसायमैत्री वातावरण निर्माणलाई प्रमुख चुनावी एजेन्डा बनाएका छन्।

अध्यक्षीय प्यानलभन्दा बाहिर रहेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएका आठै जना उम्मेदवारले व्यवसायीको वास्तविक समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर संघमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ।

Leave A Reply

Your email address will not be published.