काठमाडौं:
हाँस्य कलाकार प्रभात लामा चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्। ‘कमेडी नाइट विथ च्याम्पियन’ बाट चर्चामा आएका कलाकार लामाले अमरदीप सापकोटाको निर्देशनमा बन्न लागेको यसै चलचित्रमार्फत अभिनयमा डेब्यू गर्न लागेका हुन्।
यो चलचित्रमा लामासँगै अन्य स्थापित नामहरू पनि नयाँ भूमिकामा देखिँदैछन्। यसअघि नै लोकगायक पशुपति शर्मा र गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्त पनि यसै चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्। निर्माण पक्षका अनुसार यो चलचित्र निर्देशक सापकोटासहित हालसम्म तय भएका सबै मुख्य कलाकारहरूको पहिलो डेब्यू फिचर फिल्म हुनेछ।
यसैबीच, चलचित्रमा टेलिभिजन सिरियलका चर्चित कलाकार ‘भटभटे’ (बेगम नेपाली) लाई समेत भित्र्याउने तयारी भइरहेको चर्चा छ, यद्यपि यसबारे औपचारिक सहमति हुन बाँकी छ। रघुनाथ सापकोटाले निर्माण गर्न लागेको यो चलचित्रका लागि नयाँ महिला कलाकारको खोजी भइरहेको र आउँदो साउन महिनादेखि छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ।