काठमाडौं :
नेपालमा लोकप्रिय कलाकार भन्दा पनि भाइरल कलाकारको बढि चर्चा छ। यसैलाई लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको बताएका छन्। शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उदघाटन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।
उनले नेपालीपनको सङ्गीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्नेमा समेत जोड दिए। प्रधानमन्त्री दाहालले भने,‘दर्शक–श्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।’
उनले ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री दाहालले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार भएकाले राम्रो नभएको दाबी गरे। सार्वजनिक मेला महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका नृत्य प्रस्तुत हुने गरेको गुनासो गर्दै यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे ।