सुचना, समाचार र मनोरन्जन

‘मिट एण्ड ग्रिट’ कार्यक्रममार्फत प्रदीप खड्काले अमेरिकामा दर्शकसँग गरे संवाद

काठमाडौं :

नेपाली चलचित्रका सुपरस्टार नायक प्रदीप खड्कासँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम अमेरिकाको मेरील्याण्ड राज्यस्थित गेथर्सबर्ग सहरमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना ४ भाई इन्टरटेनमेन्टले गरेको हो। कार्यक्रममा करिब ७० देखि ८० जना नेपाली कला प्रेमीहरूको उपस्थिति रहेको थियो। उपस्थित दर्शकहरूले प्रदीप खड्कासँग उनको चलचित्र यात्रा, व्यक्तिगत जीवन तथा फिल्म क्षेत्रमा पुर्‍याएको योगदानबारे प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए।

कार्यक्रममा प्रश्नोत्तर सत्र निकै आकर्षणको केन्द्र बनेको थियो भने प्रदीप खड्कासँग फोटो खिच्ने तथा टिकटक बनाउनेको पनि ठूलो भिड लागेको थियो। कार्यक्रममा कलाकार खड्काले आफूले पाएको माया र सम्मानले भावुक बनाएको प्रतिक्रिया दिएका छन्। उनले कलाकारप्रतिको यो सम्मानले आफूभित्र झन् जिम्मेवारी र जोश थपिएको अनुभव भएको बताए।

नेपाली कला र कलाकारको सम्मान गर्न र प्रवासमा नेपाली कलाकारहरूसँग प्रत्यक्ष भेटघाट गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजन चलचित्र क्षेत्रका प्रख्यात प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाले गरेका थिए। कार्यक्रममा रियल्टर सन्तोष कोइरालासहित अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

४ भाई इन्टरटेनमेन्टका प्रमुख दिवश बनले यो कार्यक्रम उनीहरूले मेरील्याण्डको गेथर्सबर्गमा पहिलोपटक आयोजना गरेको जानकारी दिँदै यसमार्फत नेपाली कलाकार र कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा महत्वपूर्ण कदम चालिएको बताए। कार्यक्रममा सहभागी नेपाली दर्शकहरूले प्रवासमा आफ्नो मनपर्ने कलाकारसँग प्रत्यक्ष भेटघाट गर्न पाएको अवसरप्रति खुशी व्यक्त गर्दै आयोजक संस्था प्रति आभार व्यक्त गरेका थिए।

कार्यक्रमको सफलताले उत्साहित बनेका ४ भाई इन्टरटेनमेन्टका अर्का प्रमुख उत्सव रिमालले आगामी दिनमा डी.एम.भी. क्षेत्र लक्षित गर्दै एक वृहत सांगीतिक कार्यक्रमको तयारी भइरहेको जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.