काठमाडौं :
‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईंले महोत्सवको शुभारम्भ गरे। कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणा र नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायतको उपस्थिति थियो।
नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। पर्यटन र चलचित्र गतिविधि न्यून रहेको कर्णाली क्षेत्रका कथा, संस्कृति, जीवनशैली, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन महोत्सवको मुख्य उद्देश्य रहेको बताइएको छ।
महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने लक्ष्यसहित ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो। उनले कर्णालीसँग सम्बन्धित कथाका लागि आह्वान गरिएको जानकारी दिँदै उत्कृष्ट कथालाई आगामी वैशाखमा सम्मान गरिने र सम्भावनाअनुसार चलचित्र निर्माणसमेत गरिने बताए। चलचित्रमार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को प्रमुख उद्देश्य रहेको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले होइन, गौरवको दृष्टिले हेर्नुपर्ने बताए। उनले कर्णाली नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको उल्लेख गर्दै नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्याउन कर्णाली केन्द्र बन्न सक्ने धारणा राखे।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले महोत्सवजस्ता कार्यक्रमले पर्यटन नीतिमा समेत सकारात्मक बहस सिर्जना गर्ने बताए। महोत्सवकी संरक्षक भवानी राणाले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रमा देखाइएका दृश्यहरूले पर्यटकलाई स्वाभाविक रूपमा आकर्षित गर्ने बताए।
वन तथा वातावरण मन्त्री माधव चौलागाईंले चलचित्र कर्णालीको आत्मविश्वास बढाउने सशक्त माध्यम भएको उल्लेख गर्दै मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ भएको बताए।
आयोजकका अनुसार महोत्सव चार चरणमा सञ्चालन हुनेछ।
• तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (सुर्खेत) – २०८३ वैशाख ४
• गुराँस चलचित्र पर्यटन संवाद – २०८३ वैशाख ५
• कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड (काठमाडौं) – २०८३ वैशाख २६
• जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट – २०८३ जेठ २७
कर्णालीका कला, संस्कृति, कथा र प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने लक्ष्यसहित अघि बढेको महोत्सवले नेपाली चलचित्र र पर्यटन क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।