काठमाडौं :
नेपालमा पछिल्लो समय चल्तीमा रहेका अभिनेता अनमोल केसी र प्रदीप खड्काको फिल्म एकसाथ रिलिज हुँदैछ। आगामी जेठ १० गतेबाट यि दुईको फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’एक आपसमा भिड्दैछन्। फिल्ममा मात्र होइन् फिल्म साइन गरेको विषयमा दोहोरो शब्द प्रहार समेत भइरहेको छ।
फिल्म ‘फर्की फर्की’को ट्रेलर कार्यक्रममा केसीले आफुसँग कसैको हातमा फिल्म नै फिल्म आफ्नो त यो पछि कुनमा काम गर्ने हो भन्ने टिप्पणी गरेका थिए। सोही विषयमा अभिनेता खड्काले कसको बारेमा कसले के भन्छ थाहा छैन्। धेरै फिल्म आफ्नो हातमा हुनु खुबीको कुरा भएको बताएका थिए। उनीहरुबीच नै वार परिरहेको बेलामा अभिनेता केसीले प्रदीपसँग आफ्नो चिनजान नभएको तर्क गरेका छन्।
हालै एक पत्रकारले तपाईको प्रतष्पिर्धाका रुपमा प्रदीप खड्कालाई हेरिन्छ नि भन्ने प्रश्नमा केसीले हाम्रो व्यतिगत चिनजान नभएको तर्क दिएका छन्।
उनी भन्छन्,‘हाम्रो त व्यक्तिगत रूपमा एकअर्काेसँग चिनजान समेत छैन। हामी दुई जनालाई प्रतिस्पर्धीको रूपमा मिडियाले चर्चा गरेको मात्र हो।’
उनी यसलाई फाइदाका रुपमा लिएको बताउँछन्।
उनी थप्छन्,‘यो चर्चाले हामी दुवै मिडियामा छाइरहेका छौँ । दुवैलाई फाइदा भएको छ। मेरो प्रतिस्पर्धी म आफैँ हुँ।’
उनले आफुले वर्षमा २–३ वटा फिल्म खेल्न चाहेको तर स्क्रिप्ट गतिलो नभएको दाबी गरेका छन्। फिल्म ‘छड्के २’रिलिज भएको दुई वर्षपछि फिल्म ‘फर्की फर्की’मा अभिनय गरेका अभिनेता केसीले स्क्रिप्ट खोज्नैमा समय लागेको दाबी गरेका छन्।
उनी भन्छन्,‘म पनि मेरो वर्षमा २–३ वटा फिल्म रिलिज होस् भन्ने चाहना राख्छु । तर, फिल्मको लागि मन पर्ने स्क्रिप्ट खोज्दा समय लाग्छ। कहिले स्क्रिप्ट भेटिए पनि त्यसमा लगानीको अभाव देखिन्छ।’
उनको भनाई अनुसार कथा गतिलो भएका फिल्ममेकरसँग गतिलो लगानी छैन। फिल्ममा जोडिनका लागि फिल्मको स्क्रिप्ट मात्र नभएर लगानी पनि प्रयाप्त हुन जरुरी रहेको छ। अनमोलले नेपालकै अभिनेतामा सर्वाधिक पारिश्रमिक लिदै आएका छन्। उनको पारिश्रमिकको कुरा गर्ने हो भने ५० लाख भन्दा माथिको डिमाण्ड गर्छन्। यसका लागि अनमोललाई निर्माताहरुले फिल्ममा लिन हम्मे हम्मे गर्छन्।