काठमाडौं :
नारायण रायमाझीको निर्देशनमा बनेको फिल्म ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार गीतको भिडियो युटुबमार्फत रिलिज गरेको हो। यहि असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा समावेश गीत ‘हिजो काम…’ बोलको छ। जुन गीतले परदेशीकै कथा व्यथालाई वाचन गरेको पाइन्छ।
‘हिजो काम, आज काम
काम विदेशमा
काम भन्दा के नै छ र आमा विदेशमा’
जस्ता समावेश रहेको यस गीतमा सतिश चापागाईँको शब्द रहेको छ भने संगीत बिबि अनुरागीको छ। गीतकाबीचमा केही मनछुने संवादसमेत समावेश छन् ।
यस गीतलाई फिल्मका मुख्य कलाकार प्रशान्त तामाङले स्वर दिएका छन् । गीतको एरेन्ज र मिक्सिङ भने श्याम श्वेत रसाईलीले हुन् ।भिडियोमा फिल्मका शीर्ष कलाकार प्रकाश सपूत र दीलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।
नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण गरेको फिल्ममा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय रहेको छ ।
रमेश बिजीको लेखन रहेको यस फिल्मले वर्तमानमा रहेको समस्यालाई उजागर गरेको छ। पछिल्लो समय उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरुको कथालाई पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरुको कथा–व्यथालाई समेत फिल्ममा समेटिएको छ ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। अहिले यो निर्माण टिमले चितवन पुगेको छ। भोलीबाट फिल्म प्रचारका लागि नेपालको पुर्वपश्चिम दौडिने कार्यक्रम छ।