काठमाडौं :
आगामी कात्तिक १५ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा समावेश गीत सार्वजनिक भएको छ। आइतबार निर्माणपक्षले युट्युबमार्फत ‘काँधेकुरी’ गीतको भिडियो सार्वजनिक गरेको हो।
गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको गीतमा छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्य राखिएको छ। छोरालाई पढ्न सहर पठाउँदाको वियोग फिल्मका मुख्य पात्र विजय बरालको अनुहारमा देखिन्छ। त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन्। गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ।
बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ।
शिक्षाबिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ। भिडियोमा विजयसँगै फिल्मका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन्। प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय बराल र प्रकाश सपूतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ। यसअघि फिल्मको थिम पोस्टरले नै उत्सुकता जगाएको फिल्ममा बुवा र छोराको सम्बन्धको कथालाई थप देखाउने प्रयास गरेको छ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन्। यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ। सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण पक्षको भनाई छ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन्। यस फिल्मकाकार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन्। प्रशान्त सिवाकोटीको संगीत रहेको यस फिल्ममा हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ।