सुचना, समाचार र मनोरन्जन

एमएसएम इन्टरटेन्मेन्टले किन्यो ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार

काठमाडौँ:

फिल्म ‘पुजार सार्की’को फस्ट लुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा आएको थियो। फिल्मले चर्चा पाएसँगै अन्तराष्ट्रिय बजारमा समेत फिल्म बिक्री हुन थालेको छ।

फिल्मलाई कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको थियट्रिकल रिलिज अधिकार उच्च मूल्यमा किनेको हो । फिल्म कतिमा किनिएको हो नभनिएता पनि निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरे । उनले कति रकममा बिक्री भएको हो भन्ने बारे गोपनीयताको सम्झौताको कारण देखाउँदै खुलाउन चाहेनन् ।

‘हाम्रो फिल्मको फस्ट लुक पोस्टर प्रति दर्शकहरू तथा चलचित्रकर्मीहरूले देखाउनु भएको सकारात्मक प्रतिक्रियाले थप हौसला मिलेको छ । हामी कृतज्ञ छौँ’,उनले उत्साहित हुँदै भने,‘नेपाली चलचित्रको बजारलाई बिस्तार गर्ने उद्देश्यका साथ प्रवासमा बस्दै आउनु भएको नेपालीहरूको समूहले स्थापना गर्नु भएको कम्पनी एमएसएम इन्टरटेन्मेन्टलाई सम्पूर्ण अधिकार दिएको जानकारी गराउन चाहन्छौँ ।’

अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको यस महत्त्वाकाङ्क्षी फिल्मको फस्ट लुक पोस्टर आइतबार सार्वजनिक गरिएको थियो । पोस्टर सार्वजनिकसँगै फिल्म युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको छ । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् ।

विकास सुवेदीले लेखेको फिल्म अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन्। बराइलीले यसअघि फिल्म ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ फिल्ममा आउन लागेको खबर बाहिरिएदेखि नै ’पुजार सार्की’ चर्चामा रहँदै आएको छ । यो फिल्मले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’,‘प्रकाश’ लगायतका फिल्मका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको फिल्म ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो । यस फिल्ममा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ’पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ

Leave A Reply

Your email address will not be published.