सुचना, समाचार र मनोरन्जन

‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउँदै सरकार

काठमाडौँ,

सरकारले विपद्जन्य पूर्वसूचनाको प्रभावकारिता र पहुँच विस्तारका लागि मार्गचित्र तयार पारिरहेको छ । गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘सबैका लागि पूर्वसूचना’ मार्गचित्र बनाउने कामलाई तीव्रता दिएको हो ।

नेपालमा अहिले पनि एक तिहाइ जनसङ्ख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचनाबाहिर रहेको छ । सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गर्न सरकारले मार्गचित्र बनाउन लागेको हो । प्राधिकरणले सबैका लागि पूर्वसूचनाको मार्गचित्रमा जोखिमको आँकलन, रियल टाइम फोरकास्ट, लक्षित समुदायमा सूचना सम्प्रेषण र घटनापछिको प्रतिकार्यका सम्बन्धमा सरोकारवालाहरूसँग राय लिइरहेको छ ।

काभ्रेको नगरकोटमा चलिरहेको ‘सबैका लागि सूचना’ राष्ट्रिय कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले सबैका पूर्वसूचना कार्यान्वयनमा देखिएका चुनौती र रिक्त रहेको अवस्थाको विश्लेषण गरी ती विषय सम्बोधनका लागि आवश्यक योजना, बजेट र सम्भावित दातृ निकायको सहयोग लिन सुझाएका छन् ।

सबैका लागि पूर्वसूचनाको लिड संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का पिल्लर २ का सम्पर्क व्यक्ति दीपक केसीले कार्यशालाले सन् २०३० सम्म सबैका लागि पूर्वसूचनाको पहुँच पुर्‍याउने कार्यका लागि देखिएका प्राथमिकतासहितको क्रियाकलाप र वित्तीय अवस्था हितको मार्गचित्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सरकारले विस्तार गर्न लागेको पूर्वसूचना प्रणालीका लागि सरोकारवालाहरू सबैले सहयोग गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।

Chaka Panja

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव एवम् ‘सबैका लागि पूर्व सूचना’ मार्गचित्रका राष्ट्रिय संंयोजक अर्जुनकुमार बमले विपद्जन्य घटनाबाट हुने जनधनको क्षति कम गर्न मार्गचित्र कोशेढुङ्गा सावित हुने बताए ।

संयोजक बमका अनुसार सन् २०२५ देखि २०३० सम्मका लागि सबैका लागि पूर्वसूचनाको मार्गचित्र बनाउन लागिएको हो । यो मार्गचित्रले बहुप्रकोपीय विपद्को जोखिमको आँकलन गर्ने भएको हुनाले बस्ती व्यवस्थापन र जोखिम आँकलनपछिको पूर्वतयारीमा सहयोग पुर्‍याउने उनको विश्वास छ ।

प्राधिकरणले सबैका लागि पूर्वसूचना लागू गर्न देखिएका चुनौती र समस्याबारे पालिकाहरूसँग छलफल गरी राय तथा सुझावसमेत सङ्कलन गरिसकेको छ । पालिका र सरोकारवालाहरूको सुझावका आधारमा प्राधिकरणले गोष्ठी गरेको हो । पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रको तथ्याङ्क सङ्कलन, जोखिमको जानकारी, जोखिम अनुगमन र पूर्वचेतावनी प्रणालीको विकास गर्नेलगायतको पूर्वसूचना प्रवाह गर्नेछ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिया गुटरेसले सन् २०२२ नोभेम्बरमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २७औं सम्मेलनमा पाँच वर्षभित्र ‘सबैका लागि पूर्वसूचना प्रणाली’ स्थापना गर्ने औपचारिक घोषणा गर्नुभएको थियो । विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली प्रभावकारी र मितव्यवी हुने भए पनि राष्ट्रसङ्घका अनुसार विश्वका एक तिहाइ जनसङ्ख्या, खासगरी नेपालजस्ता अल्पविकसित देशहरूका नागरिक पूर्वसूचना प्रणालीबाट वञ्चित छन् । यसलाई मध्यनजर गर्दै अहिले ‘सबैलाई पूर्वसूचना’ अवधारणालाई कार्यान्वयन गर्न नेपाललगायत ३० वटा देशले पूर्वसूचनासम्बन्धी राष्ट्रिय मार्गचित्र बनाइरहेका छन् ।

मनसुनजन्य जोखिम, बाढी, पहिरो, खडेरीजस्ता घटनाहरूको पूर्वसूचना समयमै प्राप्त भएमा जनधनको क्षति न्यून हुने भएकाले यो पहुँचलाई आधारभूत अधिकारसरह स्थापित गर्नुपर्ने आवश्यकताका आधारमा सरकारले सक्रियताका साथ काम गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.