काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले धनुषामा गरेको भनिएको १३ बुँदे सहमतिप्रति प्रश्न उठाएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले सुनसरीमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा सरकारलाई केही सुझावसमेत दिएका हुन्। सुनसरीको घटनापछि देखिएको तनावका क्रममा त्यहाँ पुगेका गृहमन्त्री गुरुङले मधेसमा एउटा समूहसँग विवादास्पद १३ बुँदे सहमति गरेको आरोप लाग्दै आएको छ ।
यस वपिषयमा सचेतक राईले शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने बताए । उनले शान्तिलाई भौतिक रूपमा मात्र नहेर्न पनि सुझाव दिए ।
‘शान्ति भनेको कर्फ्यु हटाउनु वा सडक खोल्नु मात्र होइन। शान्ति भनेको नागरिकको मनबाट डर हट्नु, न्यायप्रति विश्वास जाग्नु र एक समुदायले अर्को समुदायलाई पुनः आफ्नो छिमेकीका रूपमा हेर्न सक्नु हो,’ उनले भने।
सरकारले नागरिकको मनमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्ने उनको सुझाव थियो।
राईले १३ बुँदे सहमतिका केही बुँदाप्रति पनि प्रश्न उठाए। धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषय कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने उनको तर्क थियो।
‘शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन,’ उनले भने।
सचेतक राईले यस्ता संवेदनशील मुद्दामा सरकारले सबै नागरिकको साझा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरिएको अनुभूति गर्न नहुने उनको भनाइ थियो।
यद्यपि सुनसरीको तनाव थप बढ्न नदिन प्रधानमन्त्री, गृहमन्त्री, स्थानीय सरकार, सुरक्षा निकाय तथा धार्मिक अगुवाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस्तै संवाद र संयमता कायम राख्न सुझाव दिए।