काठमाडौं :
निर्देशक सुदिप्ताको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा **‘रमिताको पिरती’**को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले प्रेम र धोका केन्द्रित कथा प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिएको छ।
निर्देशक सुदिप्ताले ‘रमिताको पिरती’लाई परम्परागत लभस्टोरीभन्दा फरक ब्रेकअप स्टोरीका रूपमा दर्शकमाझ चिनाउन चाहेको बताइन्। नेपाली सिनेमामा प्रायः हिरोको दृष्टिकोणबाट प्रेमकथा देखाइने गरे पनि आफूले महिलाको दृष्टिकोणबाट कथा भनेकाले दर्शकले नयाँ अनुभव पाउने उनको विश्वास छ। “एउटा केटी ब्रेकअपपछि मानसिक रूपमा कस्तो अवस्थामा पुग्छ, उसले के–के भोग्छ भन्ने कुरालाई फरक ढंगले प्रस्तुत गरेका छौँ,” उनले भनिन्।
सिनेमाकी मुख्य अभिनेत्री आना शर्माले आफूलाई यो कथामा अफर आएपछि करिब छ महिना निर्देशक सुदिप्तासँग बसेर पात्र अनुसार आफूलाई तयार पारेको बताइन्।यस्तै, मुख्य अभिनेता धीरज मगरले पछिल्लो समय आफू हिरो–सेन्ट्रिक कथाभन्दा पनि महिला पात्रको माध्यमबाट भनिने कथामा बढी काम गरिरहेको उल्लेख गर्दै ‘रमिताको पिरती’ पनि त्यही धारको सिनेमा भएको बताए। साथै, दर्शक र फ्यानले आफूलाई फरक अवतारमा हेर्न चाहेको अपेक्षा यो सिनेमाले पूरा गर्ने उनको दाबी छ।
आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रमिताको पिरती’को केन्द्रमा रमिता अर्थात् आना शर्मा रहेकी छन्। ब्रेकअप स्टोरीमा आधारित यो सिनेमाले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ। यही सिनेमामार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्।
सेरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमामा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिन्ले लामालगायत कलाकारको अभिनय रहेको छ। सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा आरपी प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सह–निर्माता छन् भने सागर लम्साल निर्माता रहेका छन्।
सिनेमामा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ। शिशिर बिशंखे डीओपी रहेको सिनेमाको सम्पादन सुनिल शिवभक्तिले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ। काठमाडौं उपत्यकामा सिनेमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।